संक्षिप्त परिचय

पाँचथर नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत मेची अञ्चलको मध्य पहाडी जिल्ला हो । यो जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । विकट तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै बढि रहेको छ । यो जिल्ला पल्लो किरातको नामले पनि प्रसिद्ध छ । महत्वपूर्ण विषयहरूमा निर्णय लिनुपर्दा  प्राचीन समयका विभिन्न  लिम्बुवान थुमका राजाहरू संयुक्त रूपमा आम्मे पोजोमा भन्ने तीर्थ स्थलमा जम्मा भई चुम्लुङ्ग (सभा) गरी निर्णय लिने परम्परा भएको किमवदन्ती छ ।
यस जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ । पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरू को अर्थ कुरामा सहमति मिलेको (Agreed), र थुमको अर्थ ईलाका वा किल्ला (District) हो । यसै अर्थका आधारमा, नेपाल एकीकरण पश्चात् यहाँ चली आएका धर्म/संस्कृति र रीतिरिवाजका वारेमा फेदेनमा चुम्लुङ्ग सभा बसी तयार गरेका निर्णय तत्कालीन नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाई स्वीकृति दिए पछि लिम्बुवान क्षेत्रको रीतिरिवाज सम्बन्धी कुरा मिलेको (पान्थररू) हुँदा यस क्षेत्र कै नाम पान्थर रहेको हो भन्ने मत रहेकाे छ ।  किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको एेतिहासिक वर्णनमा नै “पान्थर” शब्द प्रयोग भएको पाइन्छ ।
प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप पाँचथरलाई ३८ गा.वि.स., ११ वटा इलाका र २ वटा संसदीय निर्वाचन क्षेत्र र १ नगरपालिका रहेको वि.स. २०६८ काे जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या १९१,८१७ छ । यस जिल्लामा लिम्वू, राई, मगर, गुरुङ, सुनुवार माझी, भुजेल र तामाङ, जस्ता जाती जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । यो जिल्ला विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जात जाती र भाषा भाषीको संगम स्थल पनि हो । पाँचथर जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थलहरू पनि छन् । भौगोलिक बनावट, हावापानी, वन जङ्गल, नदी नाला र पाेखरी तथा विभिन्न जनजातिहरूको रहनसहन, भेष भूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।
भौगोलिक अवस्थिति
नेपालको मानचित्रमा पाँचथर जिल्लाको फैलावट २६.२८ देखी २६.५९ उत्तरी अक्षांश र ८०.०२  देखी ८७. ३० पूर्वी देशान्तरमा अवस्थित छ । यस जिल्लाको पूर्वमा भारतको सिक्किम र दार्जिलिङ्ग, पश्चिममा तेह्रथुम र धनकुटा उत्तरमा ताप्लेजुङ तथा दक्षिणमा इलाम र मोरङ जिल्लासँग सिमाना जोडिएको छ । पहाडी, उच्च पहाडी र केही हिमाली भू–भागमा फैलिएको यो जिल्ला समुन्द्र सतहबाट ६०९ मिटर (जिल्लाको दक्षिण तमोर बगर) देखि ४३३८ मिटर (फलैचा गाविसको चुचुरो) सम्म फैलिएर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल १,२५,२८९ हे. (१२४१ व.कि.मि.) मध्ये भू–उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल ६५,५४७ हे., वनजंगलले ढाकेको भू–भाग ५७,७०७ हे., सामुदायिक वनले ढाकेको क्षेत्रफल १३,२४३ हे., कवुलियती वनले ढाकेको क्षेत्रफल ५६४ हे., बुट्यान क्षेत्र ७,८८७ हे., चरन क्षेत्र ५,२९२ हे., सिंचित क्षेत्रफल ८,६७१ हे., बाह्रै महीना सिंचित हुने ७५० हे., आंशिक सिंचाई हुने ७,९२१ हे. रहेको छ ।
हावापानी तथा जलवायु
अधिकतम तापक्रम २६.१ डिग्री सेल्सियस र न्युनतम १२.३ डिग्री सेल्सियस मापन गरिएको पाईने यस जिल्लामा बार्षिक कुल औसत बर्षा २०७१ मि.मि. सम्मको मापन रहेको छ ।

ठूला नदीहरु
पाँचथर र तेह्रथुम सिमाना भइ वग्ने सप्तकोशीको सहयाक तमोर नदी साथै पाँचथर र ताप्लेजुङ्गको सिमाना भइ वग्ने कावेली नदी गरी २ ठुला नदीहरु रहेका छन् ।
साना खोलाहरु
पौवा, लिम्वा धुंवा, छोरुङ्गा, जिङ्जीवा, फेकुवा, होक्मा, आपतवा, चङग सवेवा, लेनुना, नविवा, नुबुचा, सुभाङ, मूवा, निवा, खेतुङ, मोरङ, काली, नावा, मेवा, थामथुम, गडेरो, छाँगो, लखुवा, मुक्तुरा, पहेवा, पेकुवा खोला, सावा खोला, निवु खोला, सिवा खोला, नाम्दु खोला, फेमे खोला, सिवुवा खोला, हेवाखोला, लिवा खोला, इँवा खोला, र नावा खोला ।
वन सम्पदा
पाँचथर जिल्ला वन सम्पदाको दृष्टिकोणले पनि धेरै धनी मानिन्छ । यस जिल्लाम निजी, सामुदायिक, सरकारी र कबुलियत वनहरु रहेका छन् । यस जिल्लामा हाल सम्म २९ कबुलियत वन रहेको छ जसले ६५८ घरधुरीलाई प्रत्यक्ष फाईदा पुर्याएको छ भने २६९ सामुदायिक वनहरु रहेको छ, जसले १३,९०५ लाई प्रत्यक्ष लाभान्वित पुर्याएको छ । यस जिल्लाको हावापानी र भौगोलिक विविधताका कारण पनि यहाँको वन र वनसम्पदामा विविधता पाइन्छ । यस जिल्लाको तल्लो भागमा भागमा तातो हावापानी भएको कारण साल सिसौ आदि जस्ता कडा काठका रुखहरु पाईन्छ भने माथिल्लो भागमा चिसो हावापानीमा पाईने रुख बिरुवाहरु पाईन्छ ।

 


Skip to toolbar